२८ फागुन ,काठमाडौँ — गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको मतलाई सम्मान गर्ने बताएका छन्।सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्बजनिक गर्दै उनले उक्त कुरा बताएका हुन् ।
अध्यक्ष ओलीले लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने उल्लेख गर्दै उक्त निर्णयलाई आफू र आफ्नो पार्टीले शिरोधार्य गर्ने स्पष्ट पारेका हुन् । झापा–५ बाट रास्ट्रीय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहसँग प्रतिस्पर्धामा उत्रिएका अध्यक्ष ओली ठूलो मतान्तरले पराजित भए पछि यस्तो अभिव्यक्ति दिएका हुन्।
फेसबुकमा उनले लेखेका छन्, “हाम्रो पार्टीले अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्छु।” ओलीले यस कठिन घडीमा सूर्य चिन्हमा मतदान गरेर पार्टीको पक्षमा उभिएका सम्पूर्ण मतदाता, नेता–कार्यकर्ता, स्वयंसेवक र समर्थकप्रति हार्दिक धन्यवादसमेत व्यक्त गरेका छन्।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) र अधक्ष्य ओलीले नराम्रोसित हार बेहोर्नु परेको छ। उक्त निर्वाचनमा नेकपा (एमाले) ले प्रत्यक्षतर्फ जम्मा ९ सिट जितेको छ भने समानुपातिकतर्फ १४ लाख ५५ हजार ८८५ मत प्राप्त गर्दै १६ सिट हासिल गरेको छ। यस अघि संसदको दोस्रो ठुलो दल नेकपा एमालेलाई यो निर्वाचनले प्रतिनिधि सभामा जम्मा २५ सित मा सिमित गरिदिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष र समानुपातिक गरि १८२ सित प्राप्त गरि दुइ तिहाई नजिक पुगेको छ।
निर्वाचन परिणामपछि नेकपा (एमाले) पार्टीभित्र नेतृत्वको भूमिकाबारे बहससमेत सुरु भएको छ। पार्टीको भविष्य सुरक्षित गर्न र कार्यकर्ता तथा शुभेच्छुकको सम्मान कायम राख्न नेतृत्वले मार्ग प्रशस्त गर्नुपर्ने आवाज पनि उठ्न थालेको बताइएको छ।