Khabar FM Smartgen

कक्षाकोठाबाट समाजसेवा सम्म : नेपाल कमर्श क्याम्पसका विद्यार्थीले देखाए समाजसेवाको प्रेरणादायी अभ्यास

khabargen.com

२०  पौष, कास्की  — नेपाल कमर्श क्याम्पस, मिनभवन काठमाडौँका बिबिए फाइनान्स आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले समाजकार्यको सिद्धान्त–२३० विषयअन्तर्गतको प्रयोगात्मक अध्ययनलाई कक्षाकोठाभित्र सीमित नराखी समाजमै कार्यान्वयन गर्दै प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्। 

  विद्यार्थीहरूले आफ्नो अध्ययनलाई व्यवहारमा उतार्दै कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ स्थित तीन विद्यालय- देउराली आधारभूत विद्यालय, ज्ञानोदय आधारभूत विद्यालय र जनप्रिय आधारभूत विद्यालयका गरी जम्मा ५५ जना  विद्यार्थीलाई शैक्षिक सामग्री, विद्यालय झोला ,न्यानो कपडा तथा खेलकुद सामग्री वितरण गरेका छन्।


 बि बि ए फाइनान्स आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको व्यक्तिगत पहलमा उक्त सामाग्रीहरु संकलन तथा वितरण  गरिएको हो।   उक्त कार्यक्रम  यहि पौष १८ गते   देउराली आधारभूत विद्यालय  परिसरमा सम्पन भएको थियो।  

 कार्यक्रम देउराली आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिमलाल भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा प्रतिनिधि गायत्री भण्डारी र बाबुराम भण्डारी प्रमुख अतिथिका रूपमा सहभागीता थियो  । कार्यक्रमको सञ्चालन देउराली आधारभूत विद्यालयकी प्रधानाध्यापक निर्मलदेवी शर्माले  गरेकी थिइन् । उक्त कार्यक्रममा ज्ञानोदय आधारभूत विद्यालयका प्रधानाध्यापक पदम भण्डारी, जनप्रिय आधारभूत विद्यालयका शिक्षक प्रतिनिधि शिला विश्वकर्मा लगायत शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। 



शैक्षिक सामाग्री वितरण कार्यक्रमका अध्यक्ष हिमलाल भण्डारीले यस्तो प्रकारको विद्यार्थी–केन्द्रित समाजसेवा यस क्षेत्रमै पहिलो पटक भएको उल्लेख गर्दै नेपाल कमर्श क्याम्पसका विद्यार्थी तथा संकाय सदस्यप्रति आभार व्यक्त गर्नुभयो। उहाँले शैक्षिक संस्थाले समाजसँग जोडिएर काम गर्दा त्यसको सकारात्मक प्रभाव दीर्घकालसम्म रहने धारणा व्यक्त गर्नुभयो।



प्रमुख अतिथिहरूले कार्यक्रम अत्यन्तै व्यवस्थित, प्रभावकारी र प्रेरणादायी भएको बताउँदै नेपाल कमर्श क्याम्पसका  विद्यार्थीहरूको सक्रियता र सामाजिक जिम्मेवारीबोधको खुलेर प्रशंसा गरे।

देउराली आधारभूत विद्यालयकी प्रधानाध्यापक निर्मलदेवी शर्माले दुर्गम क्षेत्रमा रहेका विद्यार्थीका लागि यति ठूलो सहयोग प्राप्त हुनु अत्यन्तै महत्वपूर्ण भएको उल्लेख गर्दै आयोजक नेपाल कमर्श क्याम्पसका  विद्यार्थी समूहप्रति आभार व्यक्त  गर्दै भविष्यमा पनि यस्ता समाजसेवामूलक कार्यक्रमको निरन्तरताको अपेक्षा गरिन् ।

शैक्षिक अध्ययनसँगै समाजप्रति उत्तरदायी नागरिक तयार गर्ने उद्देश्यसहित सम्पन्न उक्त कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक चेतना, सहकार्य र मानवीय संवेदनशीलता विकास गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको धारणा रहेको छ।स्थानीय समुदायको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी र अर्थपूर्ण बनाएको सहभागीहरूको भनाइ छ।

समाज कार्यको सिद्धान्त विषय शिक्षक के.पी. गौतमले विद्यार्थीहरूले कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न सफल भएको भन्दै सन्तोष व्यक्त गरे । समाजकार्यजस्तो पवित्र र मानवीय विषयलाई व्यवहारमा उतार्नु नै उच्च शिक्षाको वास्तविक उपलब्धि भएको उनको भनाइ थियो।

शैक्षिक अध्ययनसँगै समाजप्रति उत्तरदायी, संवेदनशील र सचेत नागरिक उत्पादन गर्ने उद्देश्यसहित सम्पन्न उक्त कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक चेतना, सहकार्यको भावना र मानवीय मूल्य विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको निष्कर्ष सहभागीहरूले निकालेका छन्।

अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप भव्य बनाएको थियो। लाभान्वित तीन विद्यालयका विद्यार्थिहरुले प्रफुल्लित मुद्रामा हात हल्लाएर आयोजक नेपाल कमर्श क्याम्पसका विद्यार्थिहरुलाइ भब्य बिदाइ गरेका थिए। कार्यक्रमको समापन सगै   सेवाग्राही विद्यालयले  नेपाल कमर्श क्याम्पसका विद्यार्थीहरूको समाज कार्यको उच्च मुल्यांकन गर्दै प्रसंसा पत्र समेत प्रदान गरेको थियो 

प्रतिक्रिया