१८ चैत्र ,काठमाडौं। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का केन्द्रीय अध्यक्ष युवराज शर्माले नवगठित बालेन सरकारप्रति निजी शिक्षाक्षेत्र आशावादी रहेको बताएका छन्।
आज बुधबार खबर जेन डट कमका प्रतिनिधिसँग गरिएको अन्तरक्रियामा अध्यक्ष शर्माले निजी क्षेत्रबाट सञ्चालित शिक्षालयहरूले नेपालको गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै ठुलो समुहलाई पूर्ण छात्रवृत्ति दिने जस्ता सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरे। उनले सरकार सञ्चालकहरूले यस यथार्थलाई बुझ्नुपर्नेमा जोड दिए।
" निजी कलेजहरूले समयानुकूल र गुणस्तरीय शिक्षा प्रदान गर्दै शिक्षा क्षेत्रको रुपान्तरण र विकासमा प्रशंसनीय भूमिका निर्वाह गरेका छन्। “निजी शिक्षालयहरूको योगदानलाई राज्यले उचित रूपमा मूल्यांकन गर्नुपर्छ,” उनले भने।
अध्यक्ष शर्माले लामो समयदेखि रोकिएको शिक्षा विधेयकलाई सरोकारवाला सबै पक्षसँग छलफल गरी छिटो पारित गर्नुपर्ने आवश्यकता औँल्याए। साथै, निजी लगानीकर्ताको लगानी सुरक्षाको ग्यारेन्टी गर्न सरकार जिम्मेवार ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे।
उनले निजी +२ शिक्षालयहरूले नेपालमै सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गरी अभिभावकको विश्वास जितेको उल्लेख गर्दै त्यसकै आधारमा इन्जिनियरिङ, मेडिसिन र व्यवस्थापनजस्ता विषयमा स्नातक तहका कार्यक्रमहरू देशमै सञ्चालन सम्भव भएको बताए। यसले उच्च शिक्षाका नाममा हुने पूँजी पलायनलाई धेरै हदसम्म नियन्त्रण गर्न सहयोग पुगेको उनको भनाइ छ।
शिक्षा मन्त्रि र अर्थमन्त्रीले खुला अर्थतन्त्रको सन्दर्भमा निजी क्षेत्रको योगदानलाई बुझ्ने विश्वास व्यक्त गर्दै उनले शिक्षा क्षेत्रमा सरकार र निजि क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा राखे।साथै समग्र शिक्षाको विकासमा सरकारी र निजि क्षेत्र दुबैको समन्वयात्मक सम्बन्धको आवाश्यकता औंल्याए ।