१७ चैत , काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को पक्राउविरुद्ध देशव्यापी चरणबद्ध विरोध कार्यक्रम घोषणा गरेको छ।
मंगलबार च्यासलस्थित पार्टी मुख्यालयमा उपाध्यक्ष रामबहादुर थापा को अध्यक्षतामा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि महासचिव शंकर पोखरेलले प्रेस विज्ञप्तिमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरे।
निर्णयअनुसार चैत २४ गते सबै जिल्लामा कार्यकर्ता भेला, वैशाख ३ गते वडा तहमा भेला तथा विरोध, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन र वैशाख १२ गते संघीय राजधानी काठमाडौं मा बृहत् सभा आयोजना गरिनेछ।
बालेन सरकार गठन भएको २४ घण्टा नबित्दै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई निवासबाटै पक्राउ गरी हिरासतमा राखिएको घटनापछि एमालेले आन्दोलनको घोषणा गरेको हो।