२३ भदौ , काठमाण्डौ। जेनजी पुस्ताले गरेको प्रदर्शनका कारण बानेश्वर आसपासका क्षेत्रमा तनाव सिर्जना भएको छ । प्लेकार्ड सहितका प्रदर्शनकारीहरुले भ्रष्टाचार विरोधी नाराहरु लागाएका थिए। जेनजीको आन्दोलनमा विभिन्न कलेजका विद्यार्थीहरु समेत युनिफर्ममा नै सहभागी भएको देखिन्थ्यो । उनीहरुले सरकारको बिरोधमा चर्का नाराहरु लगाएका थिए। प्रदर्शनकारीको भिड बढ्दै जाँदा प्रहरीले वल प्रयोग गर्न खोजेको थियो। यसले गर्दा भिड आक्रोशित बन्न गएको थियो ।
युवाहरुको भिड आक्रोशित बन्दै संसद भवन तर्फ अगाडी बढेपछि सुरक्षामा तैनाथ प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो। भिडलाई नियन्त्रण गर्न प्रहरीले गोली समेत चलाएको थियो । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो । भिड नियन्त्रण बाहिर हुने भन्दै स्थानिय प्रशासनले भदौ २३ गते दिउँसो १२.३० देखि राती १० बजे सम्मको लागि बानेश्वर आसपासको क्षेत्रमा स्थानीय प्रशासन ऐन २०२८कोदफा ६ क बमोजिम कर्फ्यु आदेश जारी गरेको छ ।
भ्रष्टाचार नियन्त्रण र सामाजिक संजालमा लगाएको बन्देज तत्काल खुल्ला गर्नुपर्ने जेनजीहरुको माग छ। जेनजी पुस्ता भन्नाले सन् १९९७ देखि २०१२ समको पुस्तालाई जनाउँछ। प्रदर्शन रहरले नभई बाध्यात्मक स्थितिले सृजना गरेको उनीहरुले प्रतिक्रिया दिएका छन्। पछिल्लो जानकारी अनुसार धेरै प्रदर्शनकारीहरु हताहत भएको बताइएको छ ।