Khabar FM Smartgen

झापा प्रशासनको चेतावनी :मतदाताको गोप्य मतदानको अधिकार विपरीत गतिविधि गरे कारबाही हुने

khabargen.com

१९ माघ ,झापा । झापा जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता पालना गर्न सर्वसाधारणलाई आग्रह गर्दै  सूचना जारी गरेको छ। प्रशासनले २०८२ माघ १८ गते सार्वजनिक गरेको सूचनामार्फत सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यमबाट मतदाताको गोप्य मतदानको अधिकार विपरीत गतिविधि बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण गराएको हो।

फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल प्रयोग गरी मतदातालाई “कसलाई, कुन दल वा निर्वाचन चिन्हमा मतदान गर्नुहुन्छ ?” भनी प्रश्न गर्ने क्रम बढेपछि यसलाई निर्वाचन आचारसंहिता उल्लङ्घनको कार्य ठहर गरिएको प्रशासनले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतद्वय अञ्जन न्यौपाने र तेजप्रसाद प्रसाईद्वारा हस्ताक्षरित सूचनामा  यस्तो कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) बमोजिम मतदाताको गोपनीयता भंग गर्ने कार्य भएको स्पष्ट उल्लेख छ। अब उप्रान्त यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने  समेत जनाएको छ।

प्रशासनको यस कदमले निर्वाचनलाई निष्पक्ष, स्वच्छ र धाँधलीरहित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर निर्वाचन परिणामप्रति आम चासो बढिरहेको छ।

यसबीच झापा जिल्ला विशेष आकर्षण र चासोको केन्द्र बनेको छ। देशका भावी प्रधानमन्त्रीका उम्मेदवारहरु  यही जिल्लाबाट प्रतिस्पर्धामा रहेकाले झापाको निर्वाचनलाई राष्ट्रिय राजनीतिक वृत्तले समेत नजिकबाट नियालिरहेको छ।


प्रतिक्रिया