४ चैत्र ,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई अनुशासनमा रहन र जिम्मेवार अभिव्यक्ति दिन निर्देशन दिएका छन्।
ललितपुरको ग्वार्कोमा सञ्चालन भइरहेको सांसदहरूको अभिमुखीकरण कार्यक्रमको आज दोस्रो दिन सभापति लामिछानेले सम्बोधन गर्ने क्रममा यस्तो निर्देशन दिएका हुन्। उनले सांसदहरूलाई देशको संविधान, संसद् नियमावली तथा पार्टीको विधानलाई ध्यानमा राखेर मात्र सार्वजनिक अभिव्यक्ति दिन आग्रह गरे।
उनले रास्वपाको काँधमा देशले ठूलो जिम्मेवारी दिएको उल्लेख गर्दै सबै सांसदहरूलाई राष्ट्रहितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिए। “देशलाई केन्द्रमा राखेर जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्छ,” उनले भने।
प्रतिनिधिसभामा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १६२ सिट हासिल गरेको छ। पार्टीभित्र विभिन्न विचार र आचरणका प्रतिनिधिहरू निर्वाचित भएकाले सबैलाई अनुशासनको परिधिमा रही गतिविधि सञ्चालन गर्न उनले सुझाएका हुन्।