तेह्रथुम, ७ माघ — नेकपा (एमाले) तेह्रथुमले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हेभीवेट उम्मेदवार पाएको छ। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेका केन्द्रीय सचिव भानुभक्त ढकालले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन तालिकाअनुसार ढकालले हिजो माघ ६ गते तेह्रथुममा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। एमाले तेह्रथुमको राजनीतिक इतिहासमा ढकाललाई हेभीवेट उम्मेदवारका रूपमा लिइएको छ।
उम्मेदवारी दर्तासँगै जिल्लामा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। प्रमुख दलका उम्मेदवारहरू मैदानमा उत्रिँदै जाँदा तेह्रथुमको राजनीतिक माहोल थप तातेको छ। आगामी निर्वाचनलाई लिएर दलहरू रणनीति निर्माणमा जुटेका छन् भने मतदाताबीच पनि चासो बढ्दै गएको छ।