Khabar FM Smartgen

मुख स्वास्थ्यनै समग्र स्वास्थ्यको आधार : डा. सुभाष घिमिरे

khabargen.com

६ चैत्र ,काठमाडौं । मुख तथा अनुहार शल्य चिकित्सक डा. सुभाष घिमिरेले मुख स्वास्थ्यलाई समग्र शरीर स्वास्थ्यको मूल आधारका रूपमा व्याख्या गरेका छन्। विश्व मुख स्वास्थ्य दिवस तथा अन्तर्राष्ट्रिय खुशी दिवसको अवसरमा  आज शुक्रबार खबर जेन डट कम का प्रतिनिधिहरुसँग गरिएको कुराकानीमा उनले मुख स्वास्थ्यनै  समग्र स्वास्थ्यको आधार भएको हुँदा मुख स्वस्थ रहेमा शरीर स्वतः स्वस्थ रहने धारणा व्यक्त गरेका हुन्।

उनका अनुसार बिहान–बेलुका ब्रशगर्नुमात्र दाँत सफाराख्न पर्याप्त हुन्छ भन्ने आम बुझाइ गलत हो। “दाँतलाई प्राकृतिक रूपमा स्वस्थ राख्न स्वस्थकर खानपानमा विशेष ध्यान दिनुपर्छ,” उनले भने, “शरीर र मुखलाई असर गर्ने खानेकुरा सेवन गर्नु भनेको मुख स्वास्थ्यप्रति बेवास्ता गर्नु हो।” उनले खानपानमा नियन्त्रणलाई मुख स्वास्थ्य जोगाउने मुख्य उपायका रूपमा उल्लेख गरे।

डा. घिमिरेले उदाहरणका रूपमा बाघको जीवनशैली प्रस्तुत गर्दै प्राकृतिक आहारको महत्व औंल्याए। “बाघले जंगलमा प्राकृतिक खानेकुरा खाने भएकाले दाँत ब्रश गर्न आवश्यक पर्दैन,” उनले भने, “मुख शरीरको द्वार हो, द्वार नै सफा नभए शरीर कसरी स्वस्थ रहला?”


 ॐ समाज डेन्टलका अध्यक्षसमेत रहेका उनले मुख स्वास्थ्यका लागि चार आधारभूत पक्षलाई आत्मसात गर्नुपर्ने बताए—नियमित योग अभ्यास, सन्तुलित खानपान, सकारात्मक मनोवैज्ञानिक अवस्था र नियमित दाँतको हेरचाह। उनका अनुसार योगले शरीरभित्रका विकार बाहिर निकालेर शरीर र मनलाई सन्तुलनमा राख्छ। “शरीर आफैंमा औषधि हो, दबाइले त रोगलाई दबाउने काम मात्र गर्छ,” उनले थपे।


मुख स्वास्थ्यको महत्व स्पष्ट पार्दै उनले भने, “गेट साफ भयो भने पेट साफ हुन्छ, र पेट साफ भयो भने रोग पनि साफ हुन्छ।”

अन्तर्राष्ट्रिय खुशी दिवसको अवसरमा उनले सर्वसाधारणलाई मुख स्वास्थ्यप्रति सचेत रहन आग्रह गर्दै भने, “मुख स्वस्थ भए शरीर स्वस्थ हुन्छ, र शरीर स्वस्थ भए खुशी आफैं प्राप्त हुन्छ।” उनले सबैलाई स्वस्थ र खुशी रहन शुभकामना समेत दिएका छन्।


प्रतिक्रिया