पौष १ , काठमाडौँ — बुद्ध डेण्टल हस्पिटल प्रा.लि. ले बुढानिलकण्ठस्थित प्रशान्ती एकेडेमीमा गत बिहीबार निःशुल्क दन्त शिविर तथा अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। बालबालिकामा दन्त स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा विद्यालयका शिक्षक, विद्यार्थी, कर्मचारी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
शिविरका क्रममा दन्त चिकित्सकहरूको टोलीले ४५० जनाभन्दा बढी सेवाग्राहीको दाँत, मुख र गिँजाको परीक्षण गरी आवश्यक परामर्श प्रदान गरेको थियो। सो अवसरमा विद्यार्थीहरूलाई लक्षित दन्त स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरिएको थियो।
बालबालिकामा दन्त रोगको समस्या बढ्दै गएको सन्दर्भमा प्रारम्भिक चरणमै परीक्षण र सचेतना आवश्यक रहेकोमा निःशुल्क दन्त शिविर तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बुद्ध डेण्टल हस्पिटलका दन्त रोग विशेषज्ञ डा. सुबोध थापाले बताए।
बुद्ध डेन्टल हस्पिटलका एडमिन म्यानेजर राजेश गड्तौलाले समयमै दन्त परीक्षण गर्न सकेमा दाँत तथा मुखसम्बन्धी जटिल समस्याबाट बच्न सकिने बताउँदै विद्यालय तथा कलेजहरूमा यस्ता निःशुल्क शिविर निरन्तर सञ्चालन गरिने जानकारी दिए। साथै शिविरमा सहभागी सेवाग्राहीले शिविरबाट उपलब्ध कार्ड र चिकित्सकको प्रेस्क्रिप्शनका आधारमा बुद्ध डेन्टल हस्पिटल तथा यसका सबै शाखामा दाँत उपचार सेवामा ४० प्रतिशत छुटको व्यवस्था गरिएको समेत जानकारी दिए।
विद्यालयकी कोर्डिनेटर प्रतिमा पौडेलले ज्ञान आर्जनका लागि स्वस्थ शरीर अनिवार्य हुने धारणा व्यक्त गर्दै बुद्ध डेन्टल हस्पिटलद्वारा सञ्चालित शिविरमा दाँत, मुख र गिँजाको परीक्षण र परामर्श सुबिधा प्राप्त भएको उपचार खर्चमा ४० प्रतिशत छुटको व्यवस्था घोषणा ले शिक्षक, विद्यार्थी, कर्मचारी तथा अभिभावकहरूलाई ठूलो राहत मिलेकोमा हस्पिटल प्रति आभार व्यक्त गरिन।