नेकपा एमालेको एघारौं महाधिवेशन भोलि मंसिर २७ गते शनिबारदेखि भव्य रुपमा आरम्भ हुने भएको छ। महाधिवेशनलाई लक्षित गरेर देशका विभिन्न भू–भागबाट नेता–कार्यकर्ता, प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरूको राजधानी प्रवेश तीव्र बनेको छ। ठूलो संख्यामा सहभागिता रहने भएकाले काठमाडौँका मुख्य मार्गहरूमा चहलपहल झनै बढेको देखिन्छ।
आयोजक समितिका अनुसार महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा गर्ने तयारी पूरा भएको छ। स्थल सजावट, सुरक्षा व्यवस्था तथा स्वागत व्यवस्थामासमेत अन्तिम चरणमा पुगेको स्रोतले बताएको छ। पार्टीभित्रको शक्ति प्रदर्शनका रूपमा पनि हेर्ने गरिएका कारण यो उद्घाटनसभा विशेषरूपमा चासोको विषय बनेको छ।
यसैबीच, महाधिवेशनका संवैधानिक तथा संगठनात्मक एजेन्डालाई टुंग्याउन आज दिउँसो १ बजे पार्टी मुख्यालय, च्यासलमा सचिवालयको बैठक बस्दैछ। बैठकमा पदाधिकारी संख्या, केन्द्रीय कमिटीको आकार तथा मनोनित प्रतिनिधिको अन्तिम सूचीलगायत महत्त्वपूर्ण विषयमा छलफल हुने जनाएको छ।
पार्टी नेतृत्व चयनदेखि आगामी पाँच वर्षको नीतिगत दिशानिर्देशनसम्मका निर्णय यस महाधिवेशनबाट हुने भएकाले एमालेभित्र मात्र होइन, समग्र नेपाली राजनीतिमा पनि यसको प्रभावकारी प्रभाव पर्ने विश्लेषण भइरहेका छन्।