२० पौष ,तेह्रथुम — यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) भित्र उम्मेदवार सिफारिसको प्रक्रिया तीव्र बनेको छ। प्रत्यक्षतर्फ पार्टीको टिकट कसले पाउने भन्ने विषयलाई लिएर जिल्लामा राजनीतिक चासो र आन्तरिक प्रतिस्पर्धा बढ्दै गएको छ।
नेकपा (एमाले) तेह्रथुमबाट प्रतिनिधि सभा निर्वाचनका लागि केन्द्रीय नेतृत्वदेखि प्रदेश र स्थानीय तहसम्म अनुभव बोकेका नेताहरू सिफारिस मा परेका छन्। पार्टीभित्रको शक्ति सन्तुलन, संगठन विस्तारमा पुर्याएको योगदान र जनमतको आधारमा यी नामहरू चर्चामा आएका हुन्।
सिफारिस भएका सम्भावित उम्मेदवारहरूमा नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव भानुभक्त ढकाल प्रमुख दाबेदारका रूपमा देखिएका छन्। त्यस्तै, पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा पनि बलियो सम्भावना सहित मैदानमा छन्।
पूर्व जिल्ला अध्यक्ष तेजमान कन्दङ्वा, पूर्व जिल्ला उपाध्यक्ष तथा हाल म्याङलुङ नगरपालिकाका मेयर सन्जय कुमार तुम्बाहाम्फे, प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मण तिवारी र पूर्व प्रदेश कमिटी सदस्य रेनुका भट्टराई पनि सिफारिस सूचीमा समावेश छन्।
लामो समयदेखि पार्टी संगठन र जनप्रतिनिधिका रूपमा सक्रिय यी नेताहरूबीच टिकटको प्रतिस्पर्धा रोचक बन्दै गएको छ। अन्ततः पार्टी नेतृत्वले कसलाई अन्तिम उम्मेदवारका रूपमा चयन गर्छ भन्ने विषयले तेह्रथुमको राजनीतिक दिशा निर्धारण गर्ने देखिन्छ। फागुन २१ नजिकिँदै जाँदा एमालेको निर्णयप्रति सबैको नजर केन्द्रित छ।